एजेन्सी, २६ चैत । अमेरिकी नागरिकको औसत आयुमा ऐतिहासिक गिरावट भएको एक अध्ययनले जनाएको छ । बिहीबार प्रकाशित एक अध्ययन विवरणअनुसार कोभिड महामारीका कारण अमेरिकी औसत आयु ऐतिहासिक रूपमा घटेको हो ।

सन् २०२० मा १.९ वर्षले औसत आयु घटेको थियो । यो औसत आयुमा दोस्रो विश्वयुद्ध यताकै सबभन्दा बढी गिरावट हो । त्यस्तै सन् २०२१ मा ०.४ वर्षले औसत आयु घटेको छ ।

कोरोना खोपको उपलब्धताले २०२१ मा मृत्युदर घट्ने अपेक्षा गरिएको थियो । तर डेल्टा भेरियन्टका कारण अपेक्षाकृत रूपमा मृत्युदर नघटेकाले औसत आयुमा समेत नकारात्मक असर परेको अध्ययनमा भनिएको छ ।

सीएनएन समाचारका अनुसार कोभिड महामारी सुरु हुनुअघि दशकसम्म ०.१ वर्षले औसत आयुमा परिवर्तन हुने गरेको थियो । तर कोरोना महामारीले दुई वर्षसम्म आक्रान्त बनेको अमेरिकामा औसत आयु ऐतिहासिक रूपमा घटेको हो ।

औसत आयुमा भएको ऐतिहासिक गिरावटसँगै २०२१ मा अमेरिकी औसत आयु ७६.६ वर्षमा झरेको छ । कोरोना महामारी सुरु हुनुअघि २०१९ मा अमेरिकाको औसत आयु ७८.९ वर्ष थियो ।