खुल्ला–वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने

काठमाडौं, २६ चैत । दोस्रो संस्करणको योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला–वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।
आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २८ चैत सोमबारबाट १ वैशाख बिहीबारसम्म चल्ने जानकारी गराएको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुनेछन् ।
प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यु–१५ पुरुष÷महिला, यु–१९ पुरुष÷महिला, मास्टर्स खुला ४५ वर्ष र ५५ वर्षमाथि गरी कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष र महिला एकल तर्फको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन् ।
यु–१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गर्दा यु–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३ हजार ५ सय पाउने छन् ।
पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन् ।
मास्टर्स खुला ४५ र ५५ वर्षमाथिको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमअनुसार नेपाली राष्ट्रिय रेफ्री तथा अम्पायरबाट खेलाइने आयोजकले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


