देश अत्यन्तै निर्लज्ज व्यक्तिहरूको हातमा परेको ओलीको टिप्पणी

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए ।
उनले भने, ‘राजनीतिक प्रतिस्पर्धा भइरहेको छ । तर प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अस्वस्थ । एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही ग¥यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ । माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनायो । माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ– न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्नँ ।’
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतोजस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको पनि बताए ।

