मधेस आन्दोलनको नेतृत्व गरेकी यी नेतृहरू नेतृत्वमा पुग्न अझै वञ्चित

जनकपुरधाम, २५ चैत । स्थानीय तहको निर्वाचन आउन अब ३५ दिन मात्र बाँकी छ ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा पनि उम्मेदवारका आकांक्षीहरूलाई चुनावको चटारोले छोइसकेको छ । यस्तो अवस्थामा दलहरूले चुनावकेन्द्रित गतिविधि गर्न सुरु गरिसकेका छन् ।
धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यताप्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएका छन् ।
निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थी राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलले दल दर्ता भएको बताए ।
चुनावी अभियानसँगै नेताहरूले उम्मेदवार दिन तयारी पनि अघि बढाएका छन् । दलहरु आन्तरिक रुपमा उम्मेदवार छनौटमा जुटि सकेपनि अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको सूची तयार पार्न सकेको छैन ।
जनकपुरधाममा नगरप्रमुखका लागि जसरी आकांक्षीहरु दौडधूपमा लागेका छन् त्यस्तै उपप्रमुुखको टिकेट पाउने चाहना पनि धेरैलाई छ । तर, मधेस आन्दोलनका बेला आफ्नो ज्यानकोसमेत परवाह नगरि आन्दोलनमा होमिएकी महिलाहरु मध्ये अधिकांशले अहिलेसम्म कुनै स्थान पाउन सकेकी छैनन् ।
बिभा ठाकुर : राजनीतिमा लामों समयदेखि सक्रिया महिला हुन् बिभा ठाकुर ।
पूर्व सद्भावना पार्टीबाट राजनीतिको शुरूवात गरेकी बिभा मधेश आन्दोलनका चर्चित महिलाहरू मध्येकी एक हुन् । विभिन्न पार्टी हुँदै अहिले लोसपा नेपालको नेतृको रूपमा उनले आफ्नो परिचय बनाएकी छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिया बिभाले अहिलेसम्म कुनैपनि लाभको पद पाउन सकेकी छैनन् । गत स्थानिय निर्वाचनमा उनी उपमेयरको आकांक्षी रहेपनि टिकट पाउन सकेकी थिइनन् । पार्टीबाट समानुपातिकमा नाम राखिएपनि कुनै कारण उनले लाभको पद पाउन सकिनन् । उनी अब हुने स्थानीय निर्वाचनमा फेरी टिकटको लागि प्रयासरत छिन् ।
उनले भनिन्,‘मलाई पूर्ण आशा छ कि पार्टीले यसपाली मलाई नै टिकट दिन्छ । तर आकांक्षी थुप्रै छन् ।’
लामो समयदेखि मधेश केन्द्रित दलमा आवद्ध भएर राजनीति गर्दै आईरहेकी लोसपा नेतृ बिभा उपप्रमुखमा पार्टीले आफूलाई टिकेट दिने अपेक्षा राखेकी छन् । आफू लामो समयदेखि मधेसको अधिकारका लागि आन्दोेलन गरेको र अनवरत रुपमा मधेसको लागि आवाज उठाउँदै आईरहेकाले पार्टीले आफ्नो मूल्यांकन गर्ने ठाकुरको दावी छ ।
बिन्दु ठाकुर : महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबाट राजनीतिको शुरूवात गरेकी बिन्दु ठाकुर मधेश आन्दोलनमा अग्रभूमिकामा रही आन्दोलन गर्ने चर्चित महिला हुन् ।
जूनबेला महिलाहरु आन्दोलनमा घरबाहिर जानबाट हिचकिचाउँथिन् त्यस्तो समयमा उनी अधिकार प्राप्तिका लागि सड़क संघर्षमा उत्रेकी थिइन् । विगतको चुनावमा उनको पनि नगर उपप्रमुख बन्ने चाहना थियो । तर, टिकट पाउन सकिनन् । पूर्व राजपाले टिकटमा जलझेल गरेर आफूलाई बाईकट गरेको उनको आरोप छ ।

बिन्दु अहिले बृषेशचन्द्र लाल नेतृत्वको तमलोपाकी केन्द्रीय सदस्य छन् । उनले आफूले यसपाली मौका पाए चुनावमा जाने मनस्थिति बनाएकी छन् ।
‘अहिलेको समयमा महिला पनि नेतृत्वमा आउनु जरुरी छ । महिलाहरु अधिकारका लागि आन्दोलन गर्न सक्छन् भने लाभको पदमा किन जान सक्दैनन्, उनको प्रश्न छ ?’
बिमला साह : आन्दोलनकारी जुझारू नेतृ विमला साह विगत १५ बर्षदेखी मधेसको राजनीतिमा सक्रिय चर्चित महिला हुन् । सामाजिक संघसंस्थाहरुमा पनि उनको सक्रियता सराहनीय छ । उनी सहकारीका सदस्य हुन् साथै माछा सुपर जोनमार्फत पनि जनताहरुलाई सहयोग गर्दै आइरहेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएको बेला उनको विरोध गर्दा उनीमाथि मुद्दासमेत चलाइएको थियो । विमला अहिले तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।

उनले विदेह नगरपालिकालाई पर्यटकीय र नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेको बताइन । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भनिन, ‘हालका मेयरको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सड़क, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताइन ।
‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले विदेह नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ उनले भनिन ।
पूनम झा मैथिली : महन्थ ठाकुर नेतृत्वको तमलोपाबाट राजनीति यात्राको शुरुवात गरेकी पूनम झा अहिले लोसपा नेपालमा आवद्ध छन् । उनी पनि मधेश आन्दोलनमा सक्रिय भएर लागेकी महिला हुन् ।
‘विगतको चुनावमा उपमेयरमा लगभग मेरो टिकट फाइनल भईसकेको थियो । तर, अन्त्यमा पार्टीले मेरो स्थानमा रिता कुमारी मिश्रलाई टिकट दियो,’उनले भनिन्,‘यदि यसपालि लोसपा नेपालले टिकट दियो भने मेरो जीत अवश्य हुन्छ ।’

मधेसवादी दलहरुद्धारा गरिएको ६ महिने आन्दोलनमा समेत महिलाहरुलाई एकत्रित गरेर आन्दोलनमा होमिएकी थिइन् पूनम ।
तत्कालीन केन्द्र सरकार र मधेशीहरुको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा महिलाहरुको नेतृत्व गर्दै उनी सडकमा उत्रेकी थिइन् ।
यस बाहेक उनी विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रणी भूमिकामा देखिन्छिन् । पिडित महिलाहरुको न्यायका लागि सदैव तत्पर रहेको नेतृ झा वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बन्ने तरखरमा छन् ।
बिभा पाण्डे : स्थानीय राजनीतिमा लामों समयदेखि सक्रिया महिला हुन् बिभा पाण्डे ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाबाट राजनीतिको शुरूवात गरेकी बिभा मधेश आन्दोलनका चर्चित महिलाहरू मध्येकी एक हुन् । विभिन्न पार्टी हुँदै अहिले लोसपा नेपालको नेतृको रूपमा उनले आफ्नो परिचय बनाएकी छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिया बिभाले अहिलेसम्म कुनैपनि लाभको पद पाउन सकेकी छैनन् । गत स्थानिय निर्वाचनमा उनी उपमेयरको आकांक्षी रहेपनि टिकट पाउन सकेकी थिइनन् । उनी अब हुने स्थानीय निर्वाचनमा फेरी टिकटको लागि प्रयासरत छिन् ।
पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिए त्यसलाई निस्वार्थ भावले निर्वाह गर्ने उनको अठोट छ । नेतृ पाण्डे आफ्नो क्षमताले जनकपुरधामकोे विकासका लागि निरन्तर तत्पर रहने दावी गर्छिन् ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


