काठमाडौं, २५ चैत । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ हुने भएको छ ।

डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडको आयोजनामा पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक–गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक–गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ ।