काठमाडौं, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी हुन् ।

उनले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यो क्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्था निर्माण गरी विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन् ।

राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन् । उनले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन् ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कुलपतिहरूलाई सरकारले निर्माण गरेका विश्वविद्यालयहरूलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचेक्रयाइँ नगर्न आग्रह गरेका छन् । उनले यस्तो पक्षले उच्च शिक्षालाई नियमन गर्ने कुरामा गम्भीर असर परिरहेको बताए । मन्त्री पौडेलले सरकारले उच्च शिक्षालाई नियमन र व्यवस्थित गर्न लागेको पनि बताए ।