जनकपुरधाम, २५ चैत । आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।

अभियानअन्तर्गत देशभर ५६ हजार २९८ खोप केन्द्र र विद्यालयमा खोप लगाउन लागिएको हो । यसका लागि १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।

नेपालमा पहिलोपटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । ५ वर्षमा नेपालमा ४ लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

मधेस प्रदेशका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको छ ।

स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय कुमार झाका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार प्रदेशमा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो । पुर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

उनले भने,‘टाइफाइड दुषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।’
खोपबाट कोहि बालबालिका नछुट्ने गरी प्रदेशका सबै वडास्तरसम्मका विद्यालयहरुमा पनि खोप टोली परिचालन गरिएको छ ।

मधेस प्रदेशको सप्तरी जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ३६ हजार ३६७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४३ हजार ७४२, सिरहामा १५ महिनादेखि ४ वर्षसम्मका ४२ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ६२ हजार ५५२, धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ र महोत्तरीमा १५ महिनादेखि ४ वर्षसम्मका ४८ हजार ३४९ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार ८०६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।

त्यस्तै, सर्लाही जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ३६९ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ८ हजार १७२, रौतहटमा १५ महिनादेखि ४ वर्षसम्मका ५५ हजार ८१२ र ४ वर्षदेखि १५ वर्षसम्मका २ लाख ३०७, बारामा १५ महिनादेखि ४ वर्षसम्मका ५० हजार ९२७ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ९० हजार ७८२ एवम् पर्सा जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

मधेस प्रदेशमा ४ वर्षमुनीका ३ लाख ७३ हजार ९४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७७० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउन लागिएको छ ।

सरकारी तथ्यांकमा पछिल्लो पाँचवर्षको अवधीमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाईफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।