बाँके, २४ चैत । बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्र्याक निर्माणको ढोका खुलेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्र्याक निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो ।

चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो ।

अब चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्र्याकका लागि बजेट सुनिश्चित गराएको मन्त्री अथकले बताए ।

आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो ।

रनिङ ट्र्याक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाइट जडान लगायतका महत्त्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ ।

बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशालामा स्तरोन्नतिको प्रक्रिया सुरु भएको छ ।