अहिले पूरै अनुदानमा रहेको टाइफाइडविरुद्धको खोपको सरकारले पछि पैसा तिर्नुपर्ने

काठमाडौं, २२ चैत । चैत २५ देखि वैशाख १८ सम्म देशभर टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ ।
यस अभियानमा १५ महिना पुगेका र १५ वर्ष भन्दामुनिका बालकालिकालाई खोप दिइँदैछ । यस अभियानमा करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिने लक्ष्य स्वास्थ्य सेवा विभागले लिएको छ ।
नेपाल टाइफाइडविरुद्ध खोप दिने दक्षिण पूर्वी एसियाकै पहिलो मुलुक रहेको विश्व स्वास्थ्य संगठनका स्वास्थ्य शाखा प्रमुख डा.बिनोद बुराले जानकारी दिए ।
मंगलबार स्वास्थ्य सेवा विभागले खोप अभियानबारे आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस खोपबारे जानकारी दिँदै डा.बुराले फोहोर खान तथा फोहोर पानीबाट सर्ने यो रोग एसिया, अफ्रिकी देशमा धेरै लाग्ने बताए ।
बेवास्ता गरिएको र कमजोर आँकिएको यो रोगले गम्भीर बिरामी बनाइ मृत्यु समेत हुने उनको भनाइ छ ।
अहिलेसम्म विश्वमा टाइफाइडविरुद्धका ३ प्रकारका खोप उपलब्ध छन् । यस मध्ये नेपालमा टाइफाइड कन्ज्युगेट भ्याक्सिन(टीसीभी) दिन लागिएको हो । यो एक डोज लगाए पुग्ने डा.बुराले जानकारी दिए ।
यो खोप ६ महिनाका बालबालिकादेखि ४५ वर्षसम्मकाले लगाउन मिल्छ । यो टाइफाइडविरुद्ध संक्रमणबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको उनले बताए ।
यस अभियानका लागि टाइफाइडविरुद्धको खोप गाभीले पूर्ण अनुदानमा दिएको बाल स्वास्थ्य तथा खोपा शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
आगामी दिनमा नियमित खोप अभियानमा समावेश गर्नका लागि भने नेपालले लागत मध्ये केही रकम तिरेर खोप ल्याउनुपर्ने सर्त रहेको दाहालले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


