एजेन्सी, २२ चैत । श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पूरा नहुँदै मंगलबार बिहान राजीनामा दिएका हुन् ।

सोमबार उनसँगै अरू तीन गरी चार मन्त्रीले शपथ लिएका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिए । त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भएपनि जिम्मेवारी दिन सकिने उहाँको भनाई छ ।

तर, राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे ।देशको अर्थतन्त्र चरम संकटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनलाई दबाउन सरकारले संकटकालसँगै कर्फ्यू जारी गरेको थियो ।

आर्थिक संकटसँगै राजनीतिक संकट पनि गहिरिँदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका थिए ।