सिरहा, २२ चैत । विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहाको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

सिरहाको औरही गाउँपालिकास्थित आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्र कुमार यादवलाई दिवा खाजामा अनियमितता गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा प्रधानाध्यापक यादवले दिवा खाजामा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएर रकम अनियमितता गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

दिवा खाजाका लागि सरकारले रकम दिएपनि सो विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको प्रजिअ कवारीले बताए ।

पक्राउ परेका हेडमास्टरलाई अहिले प्रहरी चौकीमा राखिएको र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन निर्देशन दिइएको प्रजिअ कवारीले जानकारी दिए ।

सबै कागजात आएपछि त्यसमाथि छानबिन गरेर मात्र प्रधानाध्यापक यादवलाई छाडिने प्रजिअ कवारीले बताए ।