तलब नपाएको भन्दै कमलाको मंगराहास्थित जनता माविमा शिक्षकले लगाए ताला

जनकपुरधाम, २१ चैत । तलब नपाएको भन्दै धनुषाको कमला नगरपालिका–१ स्थित मंगराहामा रहेको जनता माध्यमिक विद्यालयमा सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
विद्यालयमा कार्यरत १६ जना शिक्षक तथा कर्मचारीहरुले विगत १० महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।
अघिल्लो साउन महिनादेखि नै आफूहरुले तलब नपाएको सोही विद्यालयका शिक्षक अशोक कुमार मण्डलले बताए । मण्डलले अनुदानको कोटामा निजी स्रोतका शिक्षकलाई राख्ने निर्णयसमेत तत्कालिन विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको आरोप लगाए ।
उनले तत्कालिन विद्यालय व्यवस्थापन समिति, वडाध्यक्ष राजकुमार यादव र नगरपालिकालेसमेत आफूहरुको तलब व्यवस्थापनका लागि कुनै ठोस पहल नगरेकोले बाध्य भएर विद्यालयमा तालाबन्दी गरेको दुःखेसो सुनाए ।
उनले विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउन समस्या भएको बताए ।
यता, विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार पासवानले आर्थिक स्रोत नभएकाले उनीहरुलाई तलब दिन नसकिएको बताए । उनले शिक्षक तथा कर्मचारीको तलबका विषयमा नगरपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गरे ।
शिक्षकहरुले नै विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


