त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि घरेलु टोली नेपालले जित्यो

काठमाडौं, २१ चैत । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि घरेलु टोली नेपालले जितेको छ ।
नेपालले सोमबारको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनले पराजित गरेको हो। सन्दीपको कप्तानीमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
१६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो ।
पिएनजीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ५९ रन बनाएका उनले ३८ बलमा ६ छक्का र एक चौका प्रहार गरे।
चार्ल्स अमिनीले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, करण केसीले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे ।
करण केसी ३३ रनमा अविजित रहँदा आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे ।
सातौं विकेटका लागि दीपेन्द्र र करणले अविजित ५४ रनको साझेदारी गरे ।
पिएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कावुआ मोरेया र राइली हेकुरेले एक–एक विकेट हात पारे ।
मलेसिया समेत सम्मिलित सिरिजमा नेपाल समूह चरणमा शतप्रतिशत जित निकाल्दै फाइनल पुग्दा पिएनजीले चारमध्ये एक जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


