एजेन्सी, २१ चैत । गत संस्करणको विजेता चेन्नई सुपर किंग्सले जारी सिजनको आइपिएलमा लगातार तेस्रो हार बेहोरेको छ ।

तेस्रो हार बेहोर्नेक्रममा चेन्नई आइतबार राति सम्पन्न खेलमा पञ्जाब किंग्ससँग ५४ रनले पराजित हुन पुग्यो ।

ऊ पहिलो र दोस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र लखनऊ सुपर जायन्ट्ससँग पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा पञ्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

उसका लागि शिवम् दुबेले आक्रामक अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन भने असफल भए । उनले ३० बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५७ रनको पारी खेले ।

महेन्द्रसिंह धोनी २३, रोबिन उथप्पा र अम्बाती रायडु १३/१३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पञ्जाबका लागि राहुल चाहरले तीन, लियाम लिभिङस्टोन, वैभव अरोराले दुई÷दुई, कागिसो रबाडा, अर्शदीप सिंह र ओडेन स्मिथले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो । उसका लागि लियाम लिभिङस्टोनले उत्कृष्ट पारी खेले । उनले ३२ बलमा पाँच छक्का र पाँच छक्कासहित ६० रन बनाए ।

त्यस्तै, शिखर धवनले ३३, जितेश शर्माले २६, कागिसो रबाडा र राहुल चाहरले १२/१२ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन प्रिटोरियस, क्रिस जोर्डनले दुई/दुई, ड्वेन ब्रावो, रवीन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए ।

यो जितसँगै पञ्जाब चार अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । अंकविहीन चेन्नई भने नवौं स्थानमा छ ।