जनकपुरधाम, २१ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशमा विभिन्न दलहरुले चुनाव केन्द्रीत आ–आफ्ना गतिविधि व्यापक बनाएको छ ।

मधेस प्रदेशमा कुल १३६ स्थानीय तह रहेका छन् । यस प्रदेशमा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २१ वटा स्थानीय तहमा जित हासिल गरेको थियो ।

अब वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने ६० वटा स्थानीय तह जित्ने माओवादीले दावी गरेको छ ।

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता प्रभु साह लगायतकाहरु न्ेकपा एमालेमा प्रवेश गरेपछि रौतहट जिल्लामा फुटको असर देखिएको छ । नेता साह एमाले प्रवेश गरेपछि यस प्रदेशबाट ९ जना स्थानीय जनप्रतिनिधिले पार्टी छाडेका छन् । जसमध्ये दुई नगरपालिका प्रमुख र एक गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन् ।

पार्टीमा फुटको असर नदेखिने गरी स्थानीय तहमा जित्ने प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीको दावी छ । उनले भने, ‘पार्टीबाट प्रभु साहलगायतका नेताहरु एमाले प्रवेश गरेपछि थोरै असर हुनु स्वभाविक नै हो,’ अध्यक्ष बुढाथोकीले अघि थप्दैँ भने, ‘तर हामीले फुटको असर हुन नदिई अघिल्लोपटक भन्दा सुधार गर्ने प्रयास गर्नेछौं ।’

यदि गठबन्धन भएमा मधेस प्रदेशमा कुल ६० स्थानीय तह जित्ने बुढाथोकीको दावी छ । ‘पार्टीका संगठित सदस्य बढेकाले मधेस प्रदेशमा माओवादी बलियो भएको बताउँदै बुढाथोकीले भने, ‘यदि एकल रुपमै प्रतिस्पर्धा भए पनि मधेसमा माओवादीले ३० भन्दा बढी स्थानीय तह जित्छ ।’