एजेन्सी, २० चैत । श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यु उलङ्घन गरेको आरोपमा ६६४ जनालाई पक्राउ गरिएको छ ।

स्थानीय समय अनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेको बीचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिए ।

आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरु र सुरक्षाकर्मी बीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।