जनकपुरधाम, २० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा सत्ताघटक दलहरू एकजुट भएका छन् ।

नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालयमा यस प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले चार दलको बैठक बस्न लागेको जानकारी दिए ।

सो बैठकमा सहभागी दलले आ–आफ्नो पार्टी संगठनको अवस्था, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गर्ने सचिव बरबरीयाले बताए ।

आज बस्न लागेको गठबन्धन दलको बैठकमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाललगायतका चार दल सहभागि हुनेछन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ ।

स्थानीय तहको निर्वाचनका लागि सबै दलका प्रमुख नेताहरू अहिले मधेस केन्द्रित भएका छन् ।