संविधानप्रति पूर्ण निष्ठावान रहेको स्वघोषणा गर्न बाध्य पार्ने व्यवस्थाप्रति तमलोपाको आपत्ति

जनकपुरधाम, १९ चैत । तराई मधेश लोकतान्त्रिक पार्टीले ‘नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको’ स्वघोषणा गर्न बाध्य पार्ने व्यवस्थाप्रति आपत्ति जनाएको छ ।
तमलोपाले स्थानीय तह निर्वाचनमा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा ‘नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको’ स्वघोषणा गर्न बाध्य पार्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।
पार्टी अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा जनकपुरधाममा सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले विधिको शासनमा कुनै पनि नयाँ व्यवस्था विधिसम्मत तरीकाबाट गरिनु पर्ने र त्यसो गर्ने एकमात्र निकाय संघीय संसद अथवा देशको विधायिका मात्र रहेको भन्ने मान्यता लोकतन्त्रको अभ्यासको मूल स्तम्भ रहेको ठहर गरेको छ ।
बैठकपश्चात अध्यक्ष लालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको मधेशी, मुस्लिम, थारु, आदिवासी–जनजाति संविधानका कतिपय प्रावधानमा संशोधनको माग गर्दै आइरहेको र यसका निमित्त जनताले निरन्तर आन्दोलन गरिरहेको तथ्यलाई बिर्सी उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा ‘नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको’ स्वघोषणा गर्न बाध्य पार्ने व्यवस्थाप्रति पार्टी आपत्ति व्यक्त गर्दछ ।’
निर्वाचन आयोगले गत चैत १६ गते नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधार भन्दै स्थानीय निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले निर्वाचन आयोगले तयार गरेको नयाँ व्यवस्था अनुसार स्वघोषणा गर्नु पर्ने भनिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
‘कुनै नयाँ कानूनी व्यवस्था, कुनै आयोग वा अन्य निकायले गर्न सक्दैन । नियम वा अन्य यस्तै केही पनि कानूनी सीमाभन्दा बाहिरको हुन सक्दैन,‘अध्यक्ष लालले भने,‘निर्वाचन आयोगको चैत १६ गतेको व्यवस्थामा कतिपय नयाँ थपिइएर आएका विषयहरू छन् । नेपालको संविधानमा स्थानीय तहको उम्मेदवार हुने योग्यता प्रष्टसँग उल्लेखित छ । स्थानीय तह निर्वाचन ऐन,२०७३ मा पनि प्रष्ट गरिएको छ । यस बाहेकको नयाँ व्यवस्था आयोगले थोप्नु हुँदैन । नेपालको संविधानको भाग ३१ मा संविधान संशोधनको व्यवस्था छ । संविधान संशोधनको प्रक्रियाको शुरुवात संविधानको कुनै प्रावधानसँग असहमतिबाट नै सुरु हुन्छ ।’
तमलोपाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको व्यवस्थित सहभागिता, उम्मेदवारको चयन, प्रचार–प्रसारको व्यवस्थापन र देखरेखको निमित्त स्थानीय तह निर्वाचन समितिसमेत गठन गरेको छ ।
समितिमा अध्यक्ष वृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्य मो. असगर अली, बिन्दु ठाकुर र रामप्रीत यादवलगायतकाहरु रहेका छन् ।
स्थानीय तह निर्वाचनसँग सम्बन्धित विषयहरु समितिको कार्यक्षेत्र हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


