काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा पनि घरेलु टोली नेपालले जित हात पारेको छ । नेपालले शनिबार सम्पन्न खेलमा मलेसियामाथि ८५ रनको सहज जित हात पारेको हो ।

मलेसियाको यो हारले पपुवा न्युगिनी (पिएनजी) ले पनि फाइनलमा स्थान पक्का ग¥यो । आफ्नो चौथो खेलमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि विरन्दीप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए । २६ बलको सामना गरेका उनले नौ चौका प्रहार गरे । कप्तान अहमद फैजले ३३, ऐनूल हफिजले १८ र सैयद अजिजले १४ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरी दुई÷दुई तथा कुशाल भुर्तेल र रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रियमा कुशल र रोहितको यो पहिलो विकेट हो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतक र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । यो टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो शतक तथा रोहितको पहिलो अर्धशतक हो ।

दीपेन्द्र नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो ब्याटर पनि बनेका छन् । यसअघि यो प्रारूपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए ।

११० रनमा अविजित रहेका दीपेन्द्रले ५७ बलको सामना गर्दै १० चौका र ६ छक्का प्रहार गरे । रोहितले ३४ बलको सामना गर्दै पाँच चौकासहित ५१ रन बनाए । तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ९६ रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि दीपेन्द्र र मोहम्मद आदिल आलमले ५९ रनको साझेदारी गरे । आदिल १४ रन बनाएर आउट भए । मलेसियाका लागि स्याजरुल इद्रुस, मोहम्मद वाफिक, वीरन्दीप सिंह र मोहम्मद अमिरले एक÷एक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

योसँगै आफ्नो पराजित यात्रालाई चौथो खेलसम्म कायम राखेको नेपालले आठ अंक जोड्यो । पिएनजीसँग समान अंक भए पनि मलेसिया भने नेट रनरेटमा पछि प¥यो । सिरिजको फाइनल खेल सोमबार हुनेछ ।