काठमाडौं, १८ चैत । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा शुक्रबारबाट सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले लिन लागेको स्नातक तहको यो दोस्रो एकीकृत परीक्षा हो ।

त्यसअघि सम्बन्धित कजेल तथा प्रष्ठिानहरुले छुट्टा–छुट्टै प्रवेश परीक्षा लिने व्यवस्था थियो । आजबाट सुरु भएको परीक्षा चैत्र २१ गतेसम्म चल्ने आयोगले जानकारी दिएको छ ।

आज पहिलो दिन भएको एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीएएसएलपी र बी पफ्र्यजन टेक्नोलोजीको परीक्षाका लागि १९ हजार ५०८ जनाले परीक्षा आवेदन दिएको चिकित्सक शिक्षा आयोगले जनाएको छ ।

परीक्षामा नेपाली मात्रै नभएर विदेशी विद्यार्थी समेत सहभागी भएका छन् ।

परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन भएको हो । यस पटक आयोगले काठमाडौंमा मात्रै परीक्षा केन्द्र राखेको छ ।

एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएमा परीक्षा केन्द्रबाट निस्कासन गर्ने र उक्त परीक्षार्थीलाई दुई वर्षसम्म आयोगले लिने प्रवेश परीक्षामा संलग्न नगराउने जानकारी पनि आयोगले दिएको छ ।

साथै त्यस्तो गराउने मतियार समेतलाई प्रचलित कानून बमोजिम हदैसम्म कारवाही गर्ने जानकारी आयोगले दिएको छ ।

प्रवेश परीक्षामा संलग्न परीक्षार्थीको वास्तविक परीक्षार्थीले गर्ने सहीछाप आयोगमा सुरक्षित रहने भएकाले नक्कली परीक्षाथीले परीक्षा दिई पास भएर पढिरहेको अवस्थामा पनि पहिचान गरी निष्कासन गर्न सकिने आयोगले जनाएको छ ।

परीक्षाका बारेमा अनावश्यक हल्ला फैलाउने, भ्रामक समाचार दिनेलाई समेत छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ ।