एजेन्सी, १८ चैत । मियामी ओपनमा पोल्याण्डका हुबर्ट हुर्काजसँग पराजित भएपछि रुसका ड्यानिल मेदभेदेवले विश्व वरियतामा शीर्ष स्थानमा फर्कने मौका गुमाएका छन् ।

नोभाक जोकोभिचलाई उछिन्दै शीर्ष स्थानमा उक्लन २६ वर्षीय मेदभेदेवलाई सेमिफाइनल पुग्न आवश्यक थियो । तर, उनी आज बिहान सम्पन्न क्वार्टरफाइनलमा आठौं वरियताका हुर्काकजसँग ७–६ (९–७) ६–३ ले पराजित भए ।

गत समर विम्बल्डनमा रोजर फेडेररलाई क्वार्टरफाइनलमा हराउने २५ वर्षीय हुर्काजले अब स्पेनका कार्लोस अल्काराजसँग खेल्नेछन् ।

मियामीमा १४ औं वरियताका अल्काराजले सर्बियाका मियोमिर केकमानोभिकलाई ६–७ (५–७) ६–३, ७–६ (७–५) ले पराजित गरका हुन् ।

फेब्रुअरीमा, मेदभेदेव एटिपी टुर विश्व वरियताको शीर्ष स्थानमा पुग्ने २७ औं खेलाडी बनेका थिए । तर, जोकोभिचले आफ्नो स्थान स्थान पुनः प्राप्त गर्नुअघि उनी त्यहाँ तीन हप्ता मात्रै रहे ।

सर्बियाली जोकोभिकले सन् २०२२ मा एटिपी टूर इभेन्टमा अन्तर्गतको दुबई टेनिस च्याम्पियनसिप मात्र खेलेका छन् । जसमा उनी क्वार्टरफाइनलबाट बाहिरिएका थिए ।

कोरोनाविरुद्धको खोप नलगाएका कारण उनले यो वर्ष अष्ट्रेलियन ओपनका साथै अमेरिकामा भएको इन्डियन वेल्स र मियामी ओपन प्रतियोगिता गुमाए ।