काठमाडौं, १८ चैत । अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको उल्लेख गर्दै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् ।

अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईंहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैं पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’

उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए ।

‘नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाई यो स्थानसम्म पु¥याउने फ्यानप्रति पूर्ण विश्वस्त छु’, अनमोलले भने ।

अनमोलझैं निर्माता सुनिलकुमार थापाले पनि नेपाली फिल्म नै प्राथमिकतामा पर्ने बताए ।

उनले भने, ‘हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्दैछौं । हामी नेपालमा छौं । यहाँ त साथ पाउने नै छौं ।’

निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् ।

‘हामीले के कस्तो काम ग¥यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ’, निर्देशक थापाले भनिन् ।

फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ ।