काठमाडौं, १८ चैत । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध पपुवा न्यूगिनी (पिएनजी) ८ विकेटले विजयी भएको छ ।

पहिलो जित निकाल्ने क्रममा मलेसियाले दिएको १९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि टोनी उरा र कप्तान असद भालाले अर्धशतकीय पारी खेले ।

विस्फोटक ब्याटिङ गर्दै ८६ रनमा अविजित रहेका उराले ३४ बलमा १० छक्का र दुई चौका प्रहार गरे । ५१ बलको सामना गरेका भाला आठ चौका र एक छक्कासहित ७६ रनमा अविजित रहे । तेस्रो विकेटका लागि भाला र उराले अविजित १३७ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

त्यस्तै, दोस्रो विकेटका लागि भाला र चाल्र्स अमिनीले ६१ रनको साझेदारी गरे । अमिनी २८ रन बनाएर आउट भए । मलेसियाका मोहम्मद वाफिक र स्याजरुल इद्रुसले एकरएक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । उसका सैयद अजिज र कप्तान अहमद फैजले अर्धशतकीय पारी खले । ६४ रन बनाएका अजिजले ३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

फैजले ४३ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रन बनाउँदा जुबैदी जुल्किफ्ले ४६ रन जोडे । तेस्रो विकेटका लागि अजिज र फैजले १२५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । यो टी–२० अन्तर्राष्ट्रिमा मलेसियाका लागि भएको पहिलो शतकीय साझेदारी हो ।

पिएनजीका लागि कावुआ मोरेयाले ४ तथा चाड सोपर र राइली हेकुरेले १–१ विकेट हात पारे । यो जितसँगै ४ खेलमा २ अंक जोडेको पिएनजीले फाइनल सम्भावनालाई कायम राखेको छ । यसअघि उसले नेपालसँग १५ र ३७ तथा मलेसियासँग ८ रनको पराजय बेहोरेको थियो ।

३ खेलबाट २ अंक जोडेको मलेसियाको पनि फइनल पुग्ने सम्भावना जिवितै छ । उसले आफ्नो अन्तिम खेलमा शनिबार नेपालको सामना गर्नेछ । यसअघि पिएनजीलाई ८ रनले पराजित गरेको मलेसियाले नेपालसँग ६ विकेटको हार बेहोरेको थियो ।