काठमाडौं, १८ चैत । कोरोना महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ वैशाख ९ गतेबाट काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

नारायण वाग्लेको मदन पुरस्कारप्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो ।

अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ ।

सुरज सुवेदीको नाट्य रूपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ ।

अगिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् ।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन् ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको थियो ।