जनकपुरधाम, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी वैशाख ३० को निर्वाचन पछि आफ्नो पार्टी अग्रस्थानमा रहने दावी गरेका छन् ।

शुक्रबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसङ्ग कुरा गर्दै अध्यक्ष लिङदेनले स्थानीय तहको निर्वाचनमा आफूहरू बढी भन्दा बढी सिट जित्ने दावी गरेका हुन् ।

उनले राप्रपाप्रति जनताको चासो र विश्वास बढ्दै गएकोले यसको परिणाम पनि निर्वाचनको नतिजापश्चात नै देखिने दावी गरेका छन् ।

उनले भने, ‘हामी चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेका छौं । जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिएका छौं । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक विकास र सुशासन नै हाम्रो मुख्य एजेण्डा हो । त्यसैले हामी बढी भन्दा बढी सीट जित्छौं ।’

अध्यक्ष लिङदेनले भ्रष्टाचाररहित स्थानीय तह र देश निर्माण गर्नु राप्रपाको अभियान रहेको बताए ।

उनले अधिकांश स्थानमा उम्मेदवारी दिने र पहिला भन्दा बढी ठाउँमा राम्रो स्थानमा जित्ने दावीसमेत गरे ।

अध्यक्ष लिङदेनले राप्रपाले मुलुक हाक्ने जिम्मेवारी पायो भने कस्तो बनाउलान् भन्ने परिकल्पना गर्न जनतालाई आग्रह समेत गरे ।

उनले राप्रपाले निर्वाचनमा जितेपछि निःशुल्क शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए ।

विमालगायत किसानलाई मलखाद्य, वितरण गर्नुकासाथै नमूना स्थानीय तह निर्माण गर्ने र जेष्ठ नागरिकलाई घरदैलोमै गएर मासिकरुपमा स्वास्थ्य परिक्षण गर्ने अध्यक्ष लिङदेनले घोषणासमेत गरे ।