धनुषामा ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ अभियान आरम्भ

जनकपुरधाम, १७ चैत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा धनुषामा ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ अभियान आरम्भ गरेको छ ।
बिहीबार जनकपुरधाममा नेपाली कांग्रेस धनुषाको आयोजनामा केन्द्रिय सदस्य मञ्जु खाँणले अभियानको उद्घाटन गर्दै शुरुवात गरेकी हुन् ।
नेतृ खाँणले जनकपुरधाममा कांग्रेस भित्रको विभिन्न गुटउपगुट र समूहका कारण हार बेहोर्नु परिरहेको जिकिर गरिन् ।
उनले भनिन्,‘कांग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट छ । यसलाई सुधार्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्दछु ।’
उनले कांग्रेसलाई मन मस्तिष्कमा राखेर चुनावमा एकवद्ध भई लागेर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिइन् ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रमका अन्य वक्ताहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सिर्जना गरिएको भन्दै यसपालि महिलालाई प्रमुख पदमा नेतृत्वदायी भुमिका दिनुपर्नेसमेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


