जनकपुरधाम, १७ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका छन् ।

बिहिबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै महासचिव पोखरेलले जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका हुन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरीबी र बेरोजगारी समस्या समाधान गर्दै मुलुकको नाटकिय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिइने बताए ।

उनले भने,‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेको छ, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकिय परिवर्तन आउनेछ ।’

उनले एमालेको मुख्य एजेण्डा विकास र समृद्धि रहेको बताउँदै गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा रहेको धारणा राखे ।

महासचिव पोखरेलले विगतमा एमालेप्रति मधेसमा सामन्ती मनोवृत्तिको थलो रहेकाले भ्रम छर्ने र अफवाह फैलाउने कार्यलाई विफल पार्न सफल भएको बताए ।