सप्तरी, १६ चैत । राजविराज दी किङ्सले चौंथो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ ।

राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो ।

उपाधि सहित राजविराज दी किङ्सले तीन लाख रुपैयाँ तथा उप–विजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी तिलाठी कोइलाडीका सुनिल धमला घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे ।

राजविराज दी किङ्सले जितका लागि दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ राजविराजका लागि नन्दन यादव र अनिल यादवले ३–३ विकेट लिए । त्यस्तै फिर्दोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराजले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

राजविराजका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । त्यस्तै रुपेश सिंहले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अविशेक कार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए ।