काठमाडौं, १६ चैत । त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपाल विजयी भएको छ ।

नेपालले आज सम्पन्न खेलमा मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । १२.३ ओभरमा सायद अजिजले ऐनुल हाफिजबाट क्याच गराउनुअघि उनले ३८ बलको सामना गर्दै ७ चौका र १ छक्कासहित ५७ रन बनाए ।

तेस्रो विकेटका लागि आसिफ र दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । दीपेन्द्र २१ रनमा आउट भए ।

दिलिप नाथ १५ रनमा अविजित रहँदा रोहितकुमार पौडेलले १२ रन जोडे ।

मलेसियाका लागि पवनदीप सिंहले २ तथा महम्मद अमिर र सायद अजिजले १/१ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

मलेसियाका लागि जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रनको योगदान दिए ।

कप्तान अहमद फइजले २४, मोहम्मद आमिरले १६ र सायद अजिजले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ तथा अविनाश बोहरा, दिपेन्द्रसिंह ऐरी, कुशल मल्लले १÷१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै नेपालले २ खेलमा ४ अंक जोड्दा पहिलो पराजय बेहोरेको मलेसियाको समान खेलबाट २ अंक छ ।

आफ्नो पहिलो खेलमा नेपाल र मलेसियाले पपुवा न्युगिनीमाथि क्रमशः १५ र ८ रनको जित हात पारेका थिए ।

नेपालले तेस्रो खेलमा बिहिबार तथा मलेसियाले शुक्रबार पपुवा न्युगिनी(पिएनजी)को सामना गर्नेछ ।