काठमाडौं, १६ चैत । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताएका छन् ।

बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम संचालन गर्नुपर्ने बताएका हुन् ।

स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनले देशभरका सबै खेल प्रशिक्षहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भइरहेको जानकारी दिँदै त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प्रशिक्षकहरूलाई निर्देशन दिए ।

उनले भने, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन कार्यविधि तयारी अवस्थामा रहेको छ । आवश्यक अध्ययनपछि प्रतियोगिताको मिति तय हुन्छ । सातवटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुने गरी तयारी सुरु गर्नुहोस् ।’

मन्त्री अथकले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टी डोपिङसम्बन्धी प्रशिक्षण समेत आवश्यक रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा ७ दिनसम्म संचालित क्षमता अभिवृद्धि तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बहादुर विकले जानकारी दिए ।