संघीय सरकारका कारण प्रदेश प्रहरी हस्तान्तरण हुन नसकेको मन्त्री साहको आरोप

जनकपुरधाम, १६ चैत । मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारका कारण प्रदेश प्रहरी हस्तान्तरण हुन नसकेको आरोप लगाएका छन् ।
बुधबार जनकपुरधाममा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री साहले संघीय सरकारले प्रहरी हस्तान्तरण नगरेमा प्रदेश सरकारले मन्त्रीपरिषद्को बैठकबाट प्रहरी भर्ना गर्नका लागि अनुमोदन गर्ने बताएका हुन् ।
उनले भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नाका लागि आनाकानी गरिरहेको छ, हामीले यसलाई गम्भिर रुपमा लिएका छौँ, कर्मचारीहरु पनि संघ सरकारबाट खटनपटन हुने भएकाले कर्मचारीले पनि प्रदेश प्रहरी भर्ना सम्बन्धी विज्ञापन गर्न आनाकानी गरिरहेको छ, तर अब हामी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट ठाडो प्रस्ताव लैजाने र प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन छिट्टै नै निकाल्ने छौँ ।’
उनले प्रदेश सरकारले स्थापना गरेको विभिन्न प्रहरी चौकीमा प्रदेश प्रहरी भर्ना गर्ने बताए । नगरपालिकाले नगर प्रहरी राख्न पाउने, संघीय सरकारले प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको शान्तिसुरक्षाको सवालमा टुलुटुलु हेरेर नबस्ने बताउँदै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश प्रहरी भर्ना ओझेलमा परिरहेकाले जनतालाई शान्ति सुरक्षा प्रत्याभुतिका लागि प्रदेश प्रहरी भर्ना गरिने स्पष्ट पारे ।
‘संघीय सरकार र संघीय प्रहरीका उच्चअधिकारीलाई प्रदेशमा प्रहरी गयो भने हाम्रो भाग खोसिने र हामीले जथाभावी चलाउन नपाउँदा सेरेमोनियल हुने भएकाले पनि प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न तथा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरिरहेको छ,’ मन्त्री साहले भने ।
प्रहरीका उच्च अधिकारीको अधिकार खोसिँदा सेरेमोनियल हुने डर रहेकाले प्रदेशलाई प्रहरी हस्तान्तरण तथा अधिकार प्रत्यायोजन गर्न नचाहेको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


