काठमाडौं, १५ चैत । चीन सरकारको अनुदानमा नेपालमा कोरोनाविरुद्धको सिनोभ्याक खोप आएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले दिएको जानकारी अनुसार शनिबार ३५ लाख र सोमबार ५ लाख गरी ४० लाख डोज खोप नेपाल आएको हो ।

नेपालमा पहिलो पटक यो खोप आएको हो । यसअघि चीनबाट अनुदान र खरिद गरेर भेरोसेल खोप मात्रै ल्याइएको थियो ।

यो चीनको बेइजिस्थित औषधि उत्पादक कम्पनी सिनोभ्याकले तयार पारेको हो । सिनोभ्याक खोपलाई अघिल्लो वर्ष जुनमा विश्व स्वास्थ्य संगठनले आपतालीन प्रयोगको अनुमति दिएको थियो ।

यो खोपलाई गत वर्षको अगष्टतिर नै विश्वका ७० भन्दा बढी देशले प्रयोगमो मान्यता दिइसकेका थिए । भारतले मान्यता नदिएपनि दक्षिण एसियामा नेपालसँगै श्रीलंका, पाकिस्तान, बंगलादेश लगायतमा यसले प्रयोगको मान्यता पाएको छ ।

२ डोज लगाउनु पर्ने यो खोप नेपालमा १८ वर्षमाथि उमेरकालाई मात्रै दिइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।