एजेन्सी, १५ चैत । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटको भारत भ्रमण स्थगित भएको छ ।

भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले सो जानकारी दिएका हुन् । सोमबार नफ्ताली बेनेटमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यसैलाई मध्यनजर गर्दै यो भ्रमण स्थगित गरिएको हो ।

बेनेटको भ्रमण अप्रिल ३ देखि ५ सम्म तय भएको थियो । यस महिनाको सुरुमा, बेनेटले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणको घोषणा गरेका थिए ।

आफ्नो भ्रमणका क्रममा बेनेटले प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो । यसका अलावा उनले भारतमा बसोबास गर्ने यहुदी समुदायका मानिसहरूलाई पनि भेट्ने बताइएको थियो ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भनेको थियो, “मेरा मित्र प्रधानमन्त्री मोदीको निमन्त्रणामा पहिलो पटक भारतको औपचारिक भ्रमण गर्न पाउँदा म खुसी छु, हामी मिलेर हाम्रा देशको सम्बन्धलाई अगाडि बढाउनेछौँ ।“