पिएनजीलाई ८ रनले हराउँदै मलेसियाद्वारा टी–२० सिरिजमा सुखद् शुरुवात

काठमाडौं, १५ चैत । पपुवा न्युगीनी (पिएनजी) लाई ८ रनले हराउँदै मलेसियाले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा सुखद् शुरुवात गरेको छ ।
१८१ रनको लक्ष्य पछ्याएको पिएनजीले ३ बल बाँकी छँदा सबै किवेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो ।
पिएनजीका लागि टोनी उराले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।
नोर्मन भानुआले ४५, सिमोन अटाइले १७ र कप्तान असद भालाले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।मलेसियाका लागि शर्विन मुनिएन्डीले ४ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले ३–३ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
मलेसियाका लागि वीरनदीप सिंह र कप्तान अहमद फइजले अर्धशतकीय पारी खेले । ५९ रनमा अविजित रहेका वीरनदीपले ५२ बलमा समान २ चौका र छक्का प्रहार गरे ।
फइजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रन बनाए । सायद अजिजले ४७ रन जोडे । पिएनजीका लागि नोर्मन भानुआले २ तथा नोसेन पोकनाले १ विकेट हात पारे ।
यो जितसँगै मेलेसियाले २ अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको पिएनजीले अंक जोड्न सकेको छैन । पिएनजी पहिलो खेलमा घरेलु टोली नेपालसँग १५ रनले पराजित भएको थिए ।
मलेसियाले दोस्रो खेलमा बुधबार तथा पिएनजीले तेस्रो खेलमा बिहीबार नेपालको सामना गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


