काठमाडौं, १५ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पहिलोपटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल हुने बताइएको छ ।

लोसपा नेता केशव झाले भने,‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसायमयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।’

उनका अनुसार देशैभरिको रिपोर्ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।

उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् ।

चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।