जनकपुरधाम, १४ चैत । धनुषामा मोटरसाइकल दुर्घटनामा परी ४ जना बालकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर-१२ स्थित गोनरपुरामा सोमबार साझ ज.६ प ६७३९ नम्बरको मोटरसाईकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

मृत्यू हुनेहरुमा सबैला नगरपालिका वडा नम्बर-२ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १२ वर्षीय विकास यादव र १४ वर्षीय सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घाइते हुनेमा १९ वर्षीय सुरेन्द्र यादव रहेको डिएसपी बस्नेतले बताए ।

उनीहरू ५ जना एउटै मोटरसाइकलमा सवार रहेको बताइएको छ ।

दुर्घटना कसरी भयो भन्ने विषयमा यकिन नभएकोले यस विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।