आफ्ना हजारौं नगरिकलाई रुसले जबरजस्ती आफ्नो भूभागमा लगेको युक्रेनको आरोप

एजेन्सी, १४ चैत । युद्धबाट ध्वस्तजस्तै बनेको मारिओपोलका हजारौं सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभागमा लगेको युक्रेनले आरोप लगाएको छ ।
युक्रेनी बन्दरगाह सहर मारिओपोलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ । रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बीरहरूमा देखिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् ।
अहिले रुसमा रहेका मारिओपोलका एक शरणार्थीले भने, ‘हामी सबैलाई बलजफत नियन्त्रणमा लिइयो ।’
केही युक्रेनी अधिकारीहरूले रुसका कार्यहरूलाई चेचेनहरुलाई ‘फिल्ट्रेसन क्याम्प’मा ‘निर्वासन’ गरिएको घटनासँग तुलना गरेका छन् ।चेचेन्यामा रुसी युद्धमा हजारौं चेचनलाई अस्थायी शिविरमा लगेर सोधपुछ गरिएको र उनीहरूमध्ये धेरै बेपत्ता भएका थिए ।
सर्वसाधारणहरूलाई आफ्नो क्षेत्रमा निर्वासन गर्नु यो युद्धरत पक्षका लागि मानवअधिकार दुरुपयोग हो ।
रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ।
तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय बेसमेन्ट र बंकरमा लुकेका छन् । पिउने पानी, खाना र औषधिको चरम अभाव छ ।
मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ ।
तुलनात्मक रूपमा मारिओपोलका थोरै नागरिक दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


