टी–२० सिरिजमा नेपालको विजयी शुरुवात, पिएनजीमाथि १५ रनको जित

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ ।
नेपालले सोमबार भएको पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)माथि १५ रनको जित हात पारेको हो ।
१८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो ।
पिएनजीका लागि नोर्मन भानुआले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ चौका र ४ छक्कासहित ५२ रन बनाए ।
सेसे बाउले ३० र चार्ल्स अमिनीले २२ रन जोडे ।
आठौं विकेटका लागि भानुआ र चाड सोपरले ६७ रनको साझेदारी गरे पनि पिएनजीलाई जित दिलाउन भने सकेनन् । सोपर १२ रनमा अविजित रहे ।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले ३–३, अविनास बोहराले २ तथा सोमपाल कामीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रनको योगदान दिए ।
११.३ ओभरमा अली नाओले सिमोन अटाइबाट क्याच गराउनुअघि उनले ३५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।रोहितकुमार पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।
दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेका थिए ।
पिएनजीका लागि चार्ल्स अमिनी, अली नाओ र चाड सोपरले २–२ तथा रिले हिकुरे र नोर्मन भानुआले १–१ विकेट हात पार्दा १ विकेट रन आटका रूपमा प्राप्त भयो ।
आफ्नो दोस्रो खेल पिएनजीले मंगलबार तथा नेपालले बुधबार मलेसियासँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


