काठमाडौं, १४ चैत । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा हुन लागेको छ । यस निर्वाचनमा नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्याङ्क अनुसार यस निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुनेछन् । यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधान सभा निर्वाचनमा थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ थियो ।

निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला तथा १८३ जना अन्य समूहका मतदाता छन् ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ । आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङ रहेको छ । मोरङमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् ।

मोरङपछि झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् । झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै, सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन् ।

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् । काठमाडौंमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन् ।

यसपटक सबैभन्दा बढी मतदान केन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेको छ । मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम पूर्व रहेका छन् । मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम पूर्वमा ४९ वटा मतदान केन्द्र राख्ने निर्णय आयोगले गरेको छ ।

प्रदेशहरूमा सबैभन्दा बढी मतदान केन्द्र मधेस, बागमती र प्रदेश–१ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश– १ मा ४ हजार ५१ वटा मतदान केन्द्र रहनेछन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदान केन्द्र रहनेछन् ।