आइसिसी महिला एदिवसीयबाट भारत बाहिरियो

एजेन्सी, १३ चैत । आइसिसी महिला एदिवसीय विश्वकपबाट भारत बाहिरिएको छ ।
आइतबारको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएसँगै भारत बाहिरिएको हो ।
भारतको यो पराजयसँगै वेस्ट इण्डिजले सेमिफाइनलमा स्थान बनाएको छ ।
२७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि लौरा वोल्भार्डले ८० रनको उत्कृष्ट पारी खेलिन् । ७९ बलको सामना गरेकी उनले ११ चौका प्रहार गरिन् । मिग्नन डु पेरेज ६३ बलमा २ चौकासहित ५२ रनमा अविजित रहिन् । लारा गुडलले ४९ रनको योगदान दिइन् ।
भारतका लागि राजेश्वरी गायकवड र हरमनप्रित कौरले २–२ विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि न्युजिल्याण्डको क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।
भारतका लागि स्मृति मन्धना, कप्तान मिथाली राज र शेफाली बर्माले अर्धशतकीय पारी खेले । सर्वाधिक ७१ रनको योगदान दिएकी स्मृतिले ८४ बलमा ६ चौका र १ छक्का प्रहार गरिन् ।
मिथालीले ८४ बलमा ८ चौकासहित ६८ रन बनाउँदा शेफालीले ४६ बलमा ८ चौका सहित ५३ रन बनाइन् । हरमनप्रित कौरले ४८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि शबनिम स्माइल र मसाबता क्लासले २–२ तथा अयाबोंगा खाका र क्लो ट्रायोनले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै दक्षिण अफ्रिका ७ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा रहँदा समान खेलबाट ६ अंक जोडेको भारतले पाँचौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसपटक अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेस्ट इण्डिजले अन्तिम चारमा स्थान बनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


