एजेन्सी, १३ चैत । तालिबान प्रशासनले छात्राहरूका लागि माध्यमिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् ।

सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निर्णय फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् ।

आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए ।

शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरूलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए ।

तर, उनीहरु विद्यालय पुगेको केही घण्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो ।

तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ ।