काठमाडौं, १३ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।

आरसिटीले सातदोबाटोस्थित एन्फा कम्पलेक्समा झम्सिखेल युथ क्लबमाथि ३–० को सहज जित हात पारेको हो ।

आरसिटीलाई जित दिलाउन उद्धव खत्री, विश्वास थापा मगर र प्रज्वल गुरुङले १–१ गोल गरे ।

खेलको १७ औं मिनेटमा उद्धवले आरसिटीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा विश्वासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

४६ औं मिनेटमा प्रज्वलले गोल गरेपछि आरसिटीले ३–० को सहज जित हात पारेको हो । जितसँगै आरसिटीले ९ खेलमा १५ अंक जोड्दा पराजित झम्सिखेलको समान खेलबाट ६ अंक छ ।