जनकपुरधाम, १३ चैत । सरकारले पित्तथैलीमा समस्या भएका बिरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन ।

डायलाइसिस गराउने बिरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी बन्न नसकेको हो ।

दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए ।

निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौं रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरेर डायलाइसिस गराउनुपर्याे । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउन आउँदा यातायातमै हजारौं रुपैयाँ खर्च हुन्छ ।’

प्रादेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एण्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ ।

जनकपुरधाममा धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको बिरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् ।

प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हो भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेशिक अस्पतालमा ५१४ जना बिरामी दर्ता भएका छन् ।

जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय बिरामी उपचारका लागि प्रतीक्षामा छन् ।

जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना बिरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालो कुरेर बसेका छन् ।

केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ । प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ ।

डायलाइसिस विभागका इन्चार्ज रानी झाले भनिन्, ‘गत मंसिरदेखि ती मेसिनहरू बिग्रेकाले अहिले प्रदेश सरकारले दिएको पाँचवटा मेसिनमा नियमित सेवा दिँदै आएको छ । बिरामीको चाप उच्च छ, तर सीमित साधन स्रोत भएकाले सबैलाई सेवा दिन सक्ने अवस्था छैन । एउटा बिरामीलाई डायलाइसिस गर्न कम्तीमा चार घण्टा लाग्छ । पाँचवटा मेसिनमा तीन सिफ्ट काम गर्दा पनि बिरामीको चाप उच्च छ ।’

डायलाइसिसको समस्या जनकपुरधामको मात्र नभई नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा शिक्षण अस्पतालका डायलाइसिस विभाग प्रमुख डा.रमण मिश्रले भने, ‘सेवा र विरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ, तर बिरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्न ।’

कोरोना पश्चात मधेस प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाइसिसका बिरामीको सेवामा खासै सुधार देखिएको छैन ।

अहिले मधेस प्रदेशका प्रादेशिक अस्पताल जनकपुरधाम, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाइसिसको सेवा दिँदै आएको छ ।

यसअघि जनकपुरधाम र वीरगञ्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेस प्रदेश सरकारले केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको हो ।

मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने, ‘मधेस प्रदेश सरकार आएदेखि नै डायलाइसिसमा धेरै सुधार भएको छ, पहिला यो प्रदेशमा यो सेवा निकै कमजोर थियो । तर अहिले धेरै सुधार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरूको मेसिन खरिद गरेर दिएको छ । त्यसबाहेक अन्य अस्पतालका लागि पनि सामान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुन्छ । मेसिन दिएर मात्रै हुँदैन । त्यसलाई चलाउने जनशक्तिको पनि आवश्यकता छ, जुन तत्काल हामीसँग छैन । हामी त्यस्ता कर्मचारीलाई प्रशिक्षण दिँदैछौं ।’