जनकपुरधाम, १३ चैत । सर्लाहीमा बस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित फुलजोरमा आइतबार बिहान साढे ११ बजेको समयमा यात्रुबाहक बस आफैं अनियन्त्रित भई पुलबाट अन्दाजी ८÷९ मिटर तल खोलामा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसा बुढाथोकीले जानकारी दिए ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको उनले जानकारी दिए । डीएसपी बुढाथोकीले गुडिरहेको सो बसको अगाडीको चक्का अचानक पड्किएर अनियन्त्रित भई बस पुलबाट तल खसेको बताईएपनि अनुसन्धान भईरहेको बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये भारतको वेतिया बेलसन्धि कोडार पिपरा पञ्चायत बस्ने २४ बर्षीय सुनिल यादव र सिन्धुलिको तिनपट्टा गाउँपालिका–२ बस्ने ३० वर्षीया शर्मिला कार्की श्रेष्ठको सनाखत भएको छ भने १ जना पुरुष र १ जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकद्वयको शव प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ ।

दुर्घटनामा रौतहतको चन्द्रपुर नगपालिका–४ बस्ने २९ वर्षीय कुस बहादुर जर्गामगर, सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुर बस्ने सम्झना खत्री, महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थान बस्ने ५० वर्षीया अम्बिका श्रेष्ठ, सिन्धुलिको तिनपाट्टा गाउँपालिका–२ बस्ने ४२ वर्षीया सवला थापा, सोही ठाउँ बस्ने अर्जुन श्रेष्ठको ३ महिनाको छोरी अवासि श्रेष्ठ घाइते भएकी छन् ।

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–१० वस्ने १८ वर्षीय सिरज कुमार थापा, सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बस्ने १८ वर्षीय मन्तोष राम, लालबन्दी नगरपालिका–२ बस्ने २५ वर्षीया सावित्री पासवान, बाराको कलैया उपमहानगरपालिका–१२ बस्ने बस चालक ४८ वर्षीय ज्योति प्रसाद साह, बर्दिबास नगरपालिका–१२ बस्ने १९ वर्षीय भरत पासवान, लालबन्दी नगरपालिका–९ बस्ने ७० वर्षीया प्रेम कुमारी खत्री, धनुषाको गणेशमानचारनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीया शर्मिला ठकुरी, सवैला नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत महतो, महोत्तरी गाउँपालिका– २ बस्ने २६ वर्षीय सोनेलाल महतो, ईश्वरपुर नगरपालिका– १४ बस्ने ५० वर्षीय छविलाल महतो र उनका ४४ वर्षीया श्रीमती सुनैना देवी घाइते भएका छन् ।

दुर्घटनामा परी महोत्रीको बर्दिबास नगरपालिका–३ बस्ने ६२ वर्षीय बद्रि रायमाझि, बाराको बदलनगर गाउँपालिका–९ बस्ने १७ वर्षीय भण्डारी राय, महोत्तरीको गौशाला न.पा.–१ बस्ने २१ वर्षीय अजय यादव, सर्लाहीको हरिपुर न.पा.–३ बस्ने ३३ वर्षीय शत्रुधन राम, रौतहतको चन्द्रपुर गा.पा.–१ बस्ने ५८ वर्षीय यज्ञशंकर काफ्ले, महोत्तरीको सानुखरा–६ बस्ने ४८ वर्षीय मुन्ना राउत, भारतको हरिवन बस्ने ३० वर्षीया पुजा देवी, सर्लाहीको बरहथवा न.पा.–१० बस्ने २८ वर्षीय कपलेश महतो, हजरीया न.पा.–२ बस्ने २६ वर्षीय कमल जर्गामगर, वीरगञ्ज महानगरपालिका–९ बस्ने पवन दनुवार, भारत घर भइ हाल हरिवनमा घुङघि बेच्दै आएकी ६० वर्षीया सुसिला देवी, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने ११ वर्षीय दिपक राय, विरगञ्ज महानगरपालिका–१८ बस्ने ४१ वर्षीय मुन्ना जैसवाल, महोत्तरी घई भइ रौतहटमा विवाह भएको २७ वर्षीया रुपा थापा, वीरगञ्ज महानगरपालिका–६ बस्ने ३२ वर्षीय बिकाश रौनियार र रौतहतको गढिमाई न.पा.–१ बस्ने २१ वर्षीय आषिश कुमार कर्णसमेत घाइते भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।