एजेन्सी, १२ चैत । बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्याइएको छ ।

एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डाइर्भट गरिएको हो ।

ती महिलाले विमानमा बच्चाहरू रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् ।

उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन् ।

‘त्यहाँ धेरै कोलाहल थियो’, एक यात्रुले भने, ‘त्यसपछि उनी विमानको अगाडि पुगिन् । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् ।’

महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।