काठमाडौं, ११ चैत । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नेपाल पुपवा न्युगिनी (पिएनजी) सँग ६ रनले पराजित भएको हो ।

२९३ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै २८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले १२६ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

४५.२ ओभरमा नोर्मन भानुआले चार्ल्स अमिनीबाट क्याच गराउनुअघि रोहितले १०७ बलको सामना गरेका उनले ७ चौका र ४ चौका प्रहार गरे ।

योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा एकै पारीमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी बनेका छन् ।

रोहितले पूर्व कप्तान पारस खड्काको नाममा रहेको ११५ रनको कीर्तिमान भङ्ग गरेका हुन् । पारसले सन् २०१९ मा युएईविरुद्ध यो कीर्तिमान बनाएका थिए ।

रोहित र आरिफ शेखले पाँचौं विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तर्फतबाट कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि रोहितकुमार र आरिफले नै पाँचौं विकेटका लागि गरेको १०० रनको साझेदारी नेपालका लागि सर्वाधिक थियो । आरिफल ३४ रन जोडे । कुशल भर्तेलले ३२ रन बनाउँदा कमलसिंह ऐरी र सोमपाल कामी १८ रनमा अविजित रहे ।

पिएनजीका लागि नोर्मान भानुआले ३, असद भाला र चार्ल्स अमिनीले २/२ तथा नोसैना पोकनाले १ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

उसका लागि चार्ल्स अमिनी र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । नोर्मन भानुआले ४७ र टोनी उराले २८ रन बनाउँदा जेसन किला १३ रनमा अविजित रहे ।

४५.२ ओभरमा सोमपाल कामीले बोल्ड गराउनुअघि अमिनीले १०३ बलको सामना गर्दै ६ चौका र १ छक्कासहित ७७ रन बनाए । २५.१ ओभरमा दिपेन्द्रसिंह ऐरीले बोल्ड आउट गराएका भालाले ६० रन जोडे ।५५ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे ।

५५ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे । तेस्रो विकेटका लागि अमिनी र भालाले ७४ रनको साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले २/२ तथा कप्तान सन्दीप लामिछाने र पवन सर्राफले १÷१ विकेट हात पारे ।

सिरजको दोस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।