चितवन, ११ चैत । दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा शुक्रबार भएका खेल धनगढी, ललितपुर र नेपाल पुलिसले जितेका छन् ।

पहिलो खेलमा धनगढीले वालिङलाई ६–० ले को फराकिलो अन्तरले हरायो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले चार गोल गरिन् । अन्जना थुलुङ राई र सीमा रावलले समान एक–एक गोल गरे ।

एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो । २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन् । ३५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा धनगढीलाई ३–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा धनगढीले तीन गोल थप्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै चन्द्राले हृयाट्रिक पूरा गरिन् । ७० औं मिनेटमा अन्जनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल गरेपछि धनगढीले ६–० को फराकिलो जित दर्ता ग¥यो । चन्द्रा नै खेलको प्लेयर अफ द म्याच भइन् ।

दोस्रो खेलमा ललितपुरले चन्द्रपुरलाई १–० ले पराजित ग¥यो । प्रतिस्पर्धात्मक खेलमा बिष्णु साम्बाहाम्फेले गोल गरे । पहिलो हाफमा थप गरिएको ५ मिनेटको अन्तिम मिनेटमा बिष्णुले गोल गरिन् । उक्त गोल नै ललितपुरलाई जिताउन पर्याप्त भयो । खेलको प्लेयर अफ द म्याच ललितपुरकी डिफेन्डर सृजना सिंह भइन् ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस क्लबले विराटनगरलाई २–० ले पाखा लगायो । पुलिसको जितमा दुबै गोल निर्मला उपाध्यायले गरिन् ।

खेलको १४ औं मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिईन् । निरु थापाको क्रसमा विराटनगरकी गोलकिपर कल्पना कार्कीलाई बिट गर्दै निर्मलाले सुन्दर गोल गरिन् ।

७५ औं मिनेटमा निर्मलाले नै व्यक्तिगत दोस्रो गोल गरिन् । डि बक्स बाहिरबाट उनले गरेको शशक्त प्रहार विराटनगरकी गोलकिपरले बचाउन सकिनन् । निर्मला नै प्लेयर अफ द म्याच भइन् ।

लिगमा आइतबार ललितपुर र त्रिभुवन आर्मी फुटबल क्लब तथा वालिङ र विराटनगर भिड्नेछन् ।

यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।