नेपाल र पीएनजीबीच शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने

काठमाडौं, १० चैत । नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताअघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले आफूहरु प्रतियोगिताका लागि तयार रहेको बताए ।
नेपालले पीएनजीसँग शुक्रबार र शनिबार गरी दुई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला कीर्तिपुरमै हुनेछ । जहाँ पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्नेछ । टी–२० श्रृङ्खलामा एक टिमले अर्को टिमसँग दुई–दुई खेल खेल्नेछ ।
मुख्य प्रशिक्षक दशानायकेले यो प्रतियोगितामा युवा खेलाडीलाई अवसर दिने बताए ।
युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला खेलेर नेपाल र पीएनजी बुधबार मात्र काठमाडौं आइपुगेका थिए । पछिल्लो एक महिना लगातार क्रिकेट खेल्दै आएको नेपालले घरेलु मैदानमा दुई वर्षपछि नेपालमै खेल्न लागेको हो ।
नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा कीर्तिपुरमा नेपाल, ओमान र अमेरिका सम्मिलित लिग टू को श्रृङ्खला खेलेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले द्विपक्षीय सिरिज पहिलो पटक आयोजना गरेको बताए ।
नेपाल र पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रियमा म्यान अफ दि म्याचले १५० डलर पुरस्कार पाउनेछ भने म्यान अफ दि सिरिजले ३०० डलर पुरस्कार पाउनेछ । त्यस्तै टी–२० सिरिजमा म्यान अफ दि म्याचले १०० डलर र म्यान अफ दि सिरिज ५०० डलर पुरस्कार पाउनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


