दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले जित्यो

एजेन्सी, १० चैत । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली बंगलादेशले जितेको छ । गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै बंगलादेशले २–१ ले सिरिज जितेको हो ।
दक्षिण अफ्रिकामा बंगलादेशले पहिलोपटक एकदिवसीय सिरिज जितेको हो । सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ५५ रनको लक्ष्य बंगलादेशले २६.३ बलमा एक विकेट गुमाएर भेट्टायो ।
उसका लागि कप्तान तमिम इकबालले ८७, लिटन दासले ४८ र शकिबअल हसनले अविजित १८ रनको योगदान दिए । दक्षिण अफ्रिकाका केशव महाराजले मात्र एक विकेट लिन सके ।
त्यसअघि सुपरस्पोर्ट पार्कस्थित सेन्चुरियन क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ३७ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
उसका लागि जानेमन मालनले ३९, केशव महाराजले २८ तथा ड्वाने प्रेटोरियसले २०, डेविड मिलरले १६ र क्विन्टन डिककले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बंगलादेशका तास्किन अहमदले ९ ओभरमा ३५ रन दिएर सर्वाधिक ५ विकेट लिए । त्यस्तै, शाकिबअल हसनले २, मेहदीहसन मिराज र शोरिफुल इस्लामले एक÷एक विकेट हात पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


