जनता अब कांग्रेसको बहुमतिय सरकार खोजिरहेको छ : नेता निधि

जनकपुरधाम, ९ चैत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनता अब कांग्रेसको बहुमतिय सरकार खोजिरहेको बताएका छन् ।
बुधवार धनुषा जिल्लाको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै नेता निधिले नेता कार्यकर्ताहरुलाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गरे ।
उनले जनताले कम्युष्टिहरुलाई झण्डै दुई तिहाई बहुमत दिएर जिताए पनि उनीहरुले सरकार चलाउन नसकेको टिप्पणी समेत गरे ।
उनले कम्युष्टिहरुले सरकार चलाउन नसकेपछि पुनः कांग्रेसकै काँधमा जिम्मेवारी दिएको बताउँदै एमाले बाहेक जनता समेत कांग्रेसमय भएकोले यस अवसरलाई सदुपयोग गर्न पार्टीको नारा ‘घर घरमा जाऊँ, कांग्रेसलाई जिताऊ’ अभियानलाई सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

नेता निधिले कम्यूनिष्टले जनताका लागि काम गर्न नसकेपछि बाध्यतावश काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताए । उनले कम्यूष्टि सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल पार्ने खेलतर्फ लागेपछि बाध्यात्मक अवस्थामा कम्यूनिष्टहरुकै आग्रहमा काँग्रेसले सरकारको नेतृत्व गर्न पुगेको जिधिर गरे ।
‘एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपा सबै दलहरु सरकार चलाउन असफल भए,’उनले भने,‘काँग्रेस विनाको सरकार नै चलाउन सकेनन्, त्यसपछि अहिले काँग्रेसले नै देश हाँक्नु परेको छ ।’

अर्को प्रसंगमा बोल्दै नेता निधिले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआई वडामा जान नेता कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
निधिले पहिला जस्तो परिस्थिति अब नरहेकोले टिकटका लागि आ–आफ्नो वडामा जान नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
उनले भने,‘विधानको पालना गर्दै नेता कहाँ गएर हार गुहार गर्नुभन्दा आ–आफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन र निर्वाचन जित्न सक्ने क्षमताको आधारमा टिकट माग्नुृस ।’

धनुषाका नवनिर्वाचित सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीलगायतकाले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा निर्वाचन अधिकृत अरुण ज्ञवाली, केन्द्रिय सदस्यद्वय मिनाक्षी झा र चन्द्रमोहन यादव लगायतका वक्ताहरुले निर्वाचनमा केन्द्रित भएर आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


